२०८३ आश्विन ११

कालीगण्डकी ‘ए’ को १४४ मेगावाट विद्युत् उत्पादन बन्द, सबै ढोका खोलियो

स्याङ्जा । कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि स्याङ्जास्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको छ ।

अविरल वर्षाका कारण नदीको बहाव उच्च भएपछि आयोजनाबाट उत्पादन हुने १४४ मेगावाट विद्युत् उत्पादन शनिबार रातिदेखि रोकिएको केन्द्रका प्रमुख आत्मेस पौडेलले जानकारी दिए ।

पानीको बहाव निरन्तर बढ्दै गएपछि मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका विद्युत् उत्पादनसँग सम्बन्धित सबै ढोका खोलिएको जनाइएको छ ।

निरन्तरको वर्षाका कारण बाँध क्षेत्र तथा आसपासका बस्तीमा जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै विद्युत् उत्पादन बन्द गरिएको केन्द्रले जनाएको छ । नदीमा पानीको बहाव उच्च रहेकाले बाँध तथा आसपासको क्षेत्रमा सतर्कता अपनाइएको छ ।

Read More

मनसुन थप सक्रिय : देशभर वर्षा, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुन सक्रिय रहेसँगै देशका अधिकांश भूभागमा बदली र वर्षाको अवस्था देखिएको छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थान आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ । मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशभर वर्षाको गतिविधि बढेको हो ।

हाल देशभर अधिकांश भूभागमा बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र मधेश प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बदली रहनेछ । कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा र हिमपात हुन सक्नेछ ।

तराईतर्फ सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, लुम्बिनीका केही स्थानमा तथा बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीसहित वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

Read More

पाल्पामा पहिरोमा परी दुईजनाको मृत्यु, तीनजना बेपत्ता

काठमाडौं  । लगातारको वर्षापछि गएको पहिरोमा परी पाल्पामा दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

माथागढी गाउँपालिका–३ कसेनीमा आइतबार बिहान पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा लिलबहादुरसहित झरना घर्ती र दिना घर्ती बेपत्ता भएका छन् । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण पाल्पाका विभिन्न क्षेत्रमा बाढी र पहिरोले सडक अवरुद्ध हुनुका साथै विद्युत् तथा सञ्चार सेवा प्रभावित भएका छन् । माडीफाँटलगायतका क्षेत्रमा बाढी पस्दा धानबालीमा क्षति पुगेको छ भने रानीमहल क्षेत्रका होटल तथा रेस्टुरेन्टमा समेत पानी पसेको छ ।

जिल्लाका झडेवा, हार्थोक–छहरा, बासटारी–झडेवा र आर्यभञ्ज्याङ–रामपुरलगायत क्षेत्रमा पहिरोको जोखिम बढेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

Read More

कुलेखानी जलाशयमा पानीको सतह बढ्दो, १५२७ मिटर पुगे पहिलो साइरन बज्ने

काठमाडौं । कुलेखानी जलाशयमा पानीको सतह निरन्तर बढिरहेको छ । आज बिहान ५ बजेसम्म जलाशयमा पानीको सतह १ हजार ५२५.११ मिटर मापन गरिएको छ ।

कुलेखानी जलाशयमा अधिकतम १ हजार ५३० मिटरसम्म पानी भण्डारण गर्न सक्ने क्षमता रहेको छ । हाल जलाशयबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको जनाइएको छ ।

निरन्तर वर्षा भइरहेका कारण पछिल्ला दुई दिनको तुलनामा जलाशयको पानीको सतह केही तीव्र गतिमा बढिरहेको छ । पानीको सतह बढेर १ हजार ५२७ मिटर पुगेपछि पहिलो साइरन बजाइने बताइएको छ ।

त्यसपछि क्रमशः तीन पटक साइरन बज्ने र पानीको सतह १ हजार ५३० मिटर पुगेपछि बाँधको मुख्य ढोका बिस्तारै खोलिने जनाइएको छ ।

Read More

विद्युतका १० पोल ढलेपछि धरान–चतरा सडक अवरुद्ध

काठमाडौं । निरन्तरको अविरल वर्षाका कारण विद्युतका पोल ढलेपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित धरान–चतरा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सिर्पाली चोक नजिकै सडक किनारमा रहेका विद्युतका पोलहरू ढलेपछि यातायात आवागमन ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असोज ११ गते बिहान करिब ६ बजे लगातारको वर्षाका कारण जमिन गलेपछि सडक किनारमा रहेका सिमेन्टका १० वटा विद्युतका पोल उक्किएर सडकमा ढलेका थिए । सिर्पाली चोकबाट करिब ५०० मिटरको दूरीमा पोलहरू ढलेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेका अनुसार प्रहरीले नेपाल विद्युत प्राधिकरण हेटौंडासँग समन्वय गरी विद्युत प्राविधिक टोलीको सहयोगमा सडकमा छरिएका तारहरू काटेर हटाएको थियो । तार हटाएपछि सडक खुलाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

अविरल वर्षाले सडकदेखि बस्ती प्रभावित, विभिन्न क्षेत्रमा यातायात र सञ्चार अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र बाढीको समस्या देखिएको छ। पहिरो खस्दा प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् भने नदीमा पानीको बहाव बढेपछि बस्तीहरू डुबानमा परेका छन्।

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोला पुलमाथि लेदो सहितको पहिरो खसेपछि आइतबार बिहानदेखि यातायात अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ७ः५५ बजे पहिरो खसेपछि सडकमा सवारी आवागमन रोकिएको हो।

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो

पहिरो हटाउन सडक डिभिजनले आवश्यक उपकरण परिचालन गरिसकेको जनाएको छ। कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ।

वर्षाका कारण सडकखण्डका अन्य स्थानमा समेत पहिरोको जोखिम रहेकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

बेँसीसहर–चामे सडक पनि अवरुद्ध

लमजुङको बेँसीसहर–चामे सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका–६ स्थित खरखरे भिरमा आइतबार बिहान पहिरो खसेपछि सडकमा यातायात सञ्चालन हुन नसकेको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडकसमेत भासिएको छ। लगातार वर्षा भइरहेकाले पहिरो हटाउन र भासिएको सडक मर्मत गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

तालगाउँमा बाढी पस्दा स्थानीय सम्पर्कविहीन

यसैबीच, मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासों गाउँपालिका–१ स्थित तालगाउँ पुनः डुबानमा परेको छ। केही समयअघि पुनर्निर्माण सम्पन्न भएको गाउँमा फेरि बाढी पसेको हो।

स्थानीय अगुवा राजन गुरुङका अनुसार नदीको बहावमा अवरोध भएपछि पानी गाउँतर्फ पस्दा ताल क्षेत्र जलमग्न बनेको हो। बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिणतर्फका सडक अवरुद्ध भएका छन्।

सडक सम्पर्क टुटेपछि स्थानीय बासिन्दा बाहिरी क्षेत्रसँग सम्पर्कविहीन बनेका छन्। गाउँ चारैतिरबाट घेरिएपछि स्थानीयवासी सामूहिक रूपमा स्वास्थ्य चौकीको भवनमा बसेका छन्।

बाढीका कारण विद्युत् र इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ। जिल्लाका विभिन्न क्षेत्रमा टेलिफोन सम्पर्क प्रभावित हुँदा तालगाउँभन्दा माथिल्लो क्षेत्रमा बाढी तथा पहिरोको अवस्थाबारे जानकारी लिनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन्।

२०७८ सालको बाढीबाट ठूलो क्षति पुगेपछि पुनर्निर्माण गरिएको तालगाउँमा पुनः बाढीको जोखिम देखिएको हो। मर्स्याङ्दी नदीमा पानीको बहाव बढिरहेको र नदीको प्राकृतिक बहावमा समेत अवरोध देखिएको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउनसमेत सचेत गराइएको छ।

Read More

पोखरा–दुबई उडानमा यात्रुको उत्साहजनक उपस्थिति

काठमाडौं । गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडानले सुरुआती दिनमै राम्रो यात्रु पाएको छ। शनिबार चौथो दिन १५६ यात्रुसहित पोखरा आएको विमानले ८३ यात्रु लिएर दुबई फर्किएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।

यसअघि बिहीबार १२२ यात्रु दुबईबाट पोखरा आएका थिए भने १४३ यात्रु पोखराबाट दुबई गएका थिए। शुक्रबार खराब मौसमका कारण उडान रद्द भएको थियो। बुधबार पहिलो उडानमा ११३ यात्रु पोखरा आएका थिए भने फर्कँदा १५२ यात्रु दुबई गएका थिए।

पर्यटन व्यवसायी उत्साहित

उडानको सुरुआती यात्रु सङ्ख्याले पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बुकिङ राम्रो रहेको र होटल तथा रेस्टुराँले पोखरा आउने यात्रुलाई लक्षित गरी छुट योजना ल्याएको बताए।

फ्लाइ दुबईले १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ विमानमार्फत दैनिक उडान गरिरहेको छ। विमान साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबई प्रस्थान गर्ने तालिका रहेको छ।

अन्तर्राष्ट्रिय कनेक्टिभिटी बढ्ने अपेक्षा

फ्लाइ दुबईको नियमित उडानसँगै दुबईलाई ट्रान्जिट बनाएर विभिन्न मुलुकबाट पोखरा आउन सहज हुने अपेक्षा गरिएको छ। यसले पर्यटनसँगै व्यापार, रोजगारी र स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुग्ने व्यवसायीहरूको विश्वास छ।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। फ्लाइ दुबई यहाँबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा कम्पनी बनेको छ।

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न सरकारले विमानस्थलको पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क विसं २०८५ भदौ मसान्तसम्म पूर्ण रूपमा छुट गरेको छ। ग्राउन्ड ह्यान्डलिङ शुल्कमा भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

Read More

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेका छन्। उनलाई काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार जबरालाई शनिबार राति पक्राउ गरी टेकुस्थित कार्यालयमा लगिएको छ। यद्यपि, उनलाई कुन विषय वा कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

न्याय सेवाबाट प्रधानन्यायाधीशसम्म

चोलेन्द्रशम्शेर जबराले वकालत पेसाबाट न्याय क्षेत्रमा प्रवेश गरेका थिए। २०५३ वैशाख १ गते उनी तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए। त्यसपछि उनले विभिन्न न्यायिक जिम्मेवारी सम्हाल्दै विशेष अदालतको सदस्यका रूपमा समेत काम गरे।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीशका रूपमा कार्यरत रहेका बेला २०७१ सालमा उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। सर्वोच्च अदालतको न्यायाधीशका रूपमा केही वर्ष काम गरेपछि २०७५ पुस १८ गते उनले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।

प्रधानन्यायाधीशका रूपमा उनको कार्यकालमा न्यायिक नियुक्ति, मुद्दाको पेसी व्यवस्थापन तथा न्यायपालिकासँग सम्बन्धित विभिन्न विषयमा सार्वजनिक रूपमा प्रश्न उठेका थिए। उनीविरुद्ध कानुन व्यवसायीहरूले विभिन्न माग राख्दै आन्दोलनसमेत गरेका थिए।

महाअभियोगपछि निलम्बन

जबराविरुद्ध २०७८ फागुनमा तत्कालीन प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्ता भएपछि उनी प्रधानन्यायाधीशको जिम्मेवारीबाट निलम्बित भएका थिए।

महाअभियोग सिफारिस समितिले उनीमाथि लगाइएका आरोपबारे छानबिन अघि बढाउँदै बयानसमेत लिएको थियो। समितिले विभिन्न विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरे पनि महाअभियोग प्रस्ताव संसद्बाट अन्तिम निष्कर्षमा पुग्न सकेन।

प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि महाअभियोग प्रक्रियाको अवस्थालाई लिएर कानुनी विवादसमेत उत्पन्न भएको थियो। यससम्बन्धी रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले हालै सुनुवाइ गर्दै महाअभियोगको औचित्य समाप्त भएको ठहर गरेको थियो।

जबराको प्रधानन्यायाधीशका रूपमा कार्यकाल पनि यसबीच समाप्त भइसकेको छ। अहिले उनी पक्राउ पर्नुको कारण र उनीविरुद्धको कानुनी प्रक्रिया सम्बन्धमा प्रहरीले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ।

Read More

भोटेकोशी बाढी : १,४५३ जनाको शव फेला, ४,७१८ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा आइतबार बिहान ८ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ।

उद्धार तथा खोजीका क्रममा रसुवासहित विभिन्न जिल्लाबाट १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

जिल्लागत रूपमा फेला परेका शवको विवरण यस्तो छ :

जिल्लाशव संख्या
रसुवा२३६
नुवाकोट२०४
धादिङ७२
चितवन३६८
गोरखा७९
तनहुँ३८
नवलपरासी पूर्व२३२
नवलपरासी पश्चिम२२२
जम्मा१,४५१

फेला परेका शवको पहिचानका लागि डीएनए परीक्षणसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म पहिचान तथा अन्य प्रक्रिया पूरा गरी १ हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको छ।

शव पहिचानका लागि मृतक तथा उनीहरूका आफन्तबाट गरी कुल ३ हजार ३ सय ९१ वटा डीएनए नमुना संकलन गरिएको छ।

डीएनए नमुनासंख्या
मृतकका१,३३०
मृतकका आफन्तका२,०६१
कुल३,३९१

यसैबीच, पहिचान हुन नसकेका १ हजार ४ सय २१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ। शवको पहिचानका लागि सम्बन्धित परिवार तथा आफन्तबाट प्राप्त नमुनासँग मिलान गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।

बाढीपछि बेपत्ता भएका ४ हजार ७ सय १८ जनाको खोजी कार्यसमेत जारी रहेको छ। यसका साथै विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल १ हजार २ सय ७९ जना राखिएका छन्।

Read More