स्याङ्जा । कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि स्याङ्जास्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको छ ।
अविरल वर्षाका कारण नदीको बहाव उच्च भएपछि आयोजनाबाट उत्पादन हुने १४४ मेगावाट विद्युत् उत्पादन शनिबार रातिदेखि रोकिएको केन्द्रका प्रमुख आत्मेस पौडेलले जानकारी दिए ।
पानीको बहाव निरन्तर बढ्दै गएपछि मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका विद्युत् उत्पादनसँग सम्बन्धित सबै ढोका खोलिएको जनाइएको छ ।
निरन्तरको वर्षाका कारण बाँध क्षेत्र तथा आसपासका बस्तीमा जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै विद्युत् उत्पादन बन्द गरिएको केन्द्रले जनाएको छ । नदीमा पानीको बहाव उच्च रहेकाले बाँध तथा आसपासको क्षेत्रमा सतर्कता अपनाइएको छ ।




