२०८३ आश्विन ११

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेका छन्। उनलाई काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार जबरालाई शनिबार राति पक्राउ गरी टेकुस्थित कार्यालयमा लगिएको छ। यद्यपि, उनलाई कुन विषय वा कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

न्याय सेवाबाट प्रधानन्यायाधीशसम्म

चोलेन्द्रशम्शेर जबराले वकालत पेसाबाट न्याय क्षेत्रमा प्रवेश गरेका थिए। २०५३ वैशाख १ गते उनी तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए। त्यसपछि उनले विभिन्न न्यायिक जिम्मेवारी सम्हाल्दै विशेष अदालतको सदस्यका रूपमा समेत काम गरे।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीशका रूपमा कार्यरत रहेका बेला २०७१ सालमा उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। सर्वोच्च अदालतको न्यायाधीशका रूपमा केही वर्ष काम गरेपछि २०७५ पुस १८ गते उनले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।

प्रधानन्यायाधीशका रूपमा उनको कार्यकालमा न्यायिक नियुक्ति, मुद्दाको पेसी व्यवस्थापन तथा न्यायपालिकासँग सम्बन्धित विभिन्न विषयमा सार्वजनिक रूपमा प्रश्न उठेका थिए। उनीविरुद्ध कानुन व्यवसायीहरूले विभिन्न माग राख्दै आन्दोलनसमेत गरेका थिए।

महाअभियोगपछि निलम्बन

जबराविरुद्ध २०७८ फागुनमा तत्कालीन प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्ता भएपछि उनी प्रधानन्यायाधीशको जिम्मेवारीबाट निलम्बित भएका थिए।

महाअभियोग सिफारिस समितिले उनीमाथि लगाइएका आरोपबारे छानबिन अघि बढाउँदै बयानसमेत लिएको थियो। समितिले विभिन्न विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरे पनि महाअभियोग प्रस्ताव संसद्बाट अन्तिम निष्कर्षमा पुग्न सकेन।

प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि महाअभियोग प्रक्रियाको अवस्थालाई लिएर कानुनी विवादसमेत उत्पन्न भएको थियो। यससम्बन्धी रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले हालै सुनुवाइ गर्दै महाअभियोगको औचित्य समाप्त भएको ठहर गरेको थियो।

जबराको प्रधानन्यायाधीशका रूपमा कार्यकाल पनि यसबीच समाप्त भइसकेको छ। अहिले उनी पक्राउ पर्नुको कारण र उनीविरुद्धको कानुनी प्रक्रिया सम्बन्धमा प्रहरीले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ।