२०८३ आश्विन ११

पोखरा–दुबई उडानमा यात्रुको उत्साहजनक उपस्थिति

काठमाडौं । गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडानले सुरुआती दिनमै राम्रो यात्रु पाएको छ। शनिबार चौथो दिन १५६ यात्रुसहित पोखरा आएको विमानले ८३ यात्रु लिएर दुबई फर्किएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।

यसअघि बिहीबार १२२ यात्रु दुबईबाट पोखरा आएका थिए भने १४३ यात्रु पोखराबाट दुबई गएका थिए। शुक्रबार खराब मौसमका कारण उडान रद्द भएको थियो। बुधबार पहिलो उडानमा ११३ यात्रु पोखरा आएका थिए भने फर्कँदा १५२ यात्रु दुबई गएका थिए।

पर्यटन व्यवसायी उत्साहित

उडानको सुरुआती यात्रु सङ्ख्याले पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बुकिङ राम्रो रहेको र होटल तथा रेस्टुराँले पोखरा आउने यात्रुलाई लक्षित गरी छुट योजना ल्याएको बताए।

फ्लाइ दुबईले १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ विमानमार्फत दैनिक उडान गरिरहेको छ। विमान साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबई प्रस्थान गर्ने तालिका रहेको छ।

अन्तर्राष्ट्रिय कनेक्टिभिटी बढ्ने अपेक्षा

फ्लाइ दुबईको नियमित उडानसँगै दुबईलाई ट्रान्जिट बनाएर विभिन्न मुलुकबाट पोखरा आउन सहज हुने अपेक्षा गरिएको छ। यसले पर्यटनसँगै व्यापार, रोजगारी र स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुग्ने व्यवसायीहरूको विश्वास छ।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। फ्लाइ दुबई यहाँबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा कम्पनी बनेको छ।

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न सरकारले विमानस्थलको पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क विसं २०८५ भदौ मसान्तसम्म पूर्ण रूपमा छुट गरेको छ। ग्राउन्ड ह्यान्डलिङ शुल्कमा भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।