२०८३ कार्तिक ८

देशभर २४ घण्टामा १९ विपद्का घटना, १२ जना घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १९ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी १२ जना घाइते भएका छन्। प्रारम्भिक विवरणअनुसार घटनाबाट करिब २८ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गते बिहान १० बजेदेखि आइतबारसम्म आगलागी, सर्पदंश, बाढी, पहिरो तथा जनावर आक्रमणका घटना भएका हुन्।

आगलागी

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार झापा, मोरङ, सिरहा, काठमाडौं, चितवन, नवलपरासी पूर्व, कपिलवस्तु, पाल्पा, कैलाली र डोटीमा आगलागीका घटना भएका छन्।

सर्पदंश

तेह्रथुम, भोजपुर, नवलपरासी पूर्व, बाँके र कञ्चनपुरमा सर्पदंशका घटना भएको प्राधिकरणले जनाएको छ।

पहिरो तथा जनावर आक्रमण

ललितपुरमा पहिरो गएको छ भने कास्की र रुपन्देहीमा जनावर आक्रमणका घटना भएका छन्। विपद्का घटनामा घाइते भएकाहरूको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ।

प्राधिकरणले सम्भावित विपद्बाट हुने जोखिम कम गर्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विपद्को अवस्था उत्पन्न भए स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सहयोग लिन पनि प्राधिकरणले अनुरोध गरेको छ।