२०८३ कार्तिक ७

कांग्रेस महाधिवेशनको चौथो दिन आज प्रतिवेदन र प्रस्ताव पारित गरिँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र सञ्चालन हुँदैछ। बन्द सत्रमा महाधिवेशन प्रतिनिधिबीच छलफल भएका विभिन्न राजनीतिक प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ।

आज सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्तावमाथि निर्णय हुनेछ। त्यस्तै उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पनि पारित गर्ने कार्यक्रम छ।

गत सोमबारदेखि यी प्रस्ताव तथा प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका छन्। सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य सुरेशराज आचार्यका अनुसार छलफलमा सातै प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ।

साढे १० बजे बन्द सत्र: कार्यतालिकाअनुसार आज बिहान साढे १० बजेदेखि बन्द सत्र पुनः सुरु हुनेछ। सत्रको सुरुवातमा सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिएका छन्।