२०८३ कार्तिक ७

कविता, संगीत र संवादको आत्मीय साँझ: एटिकमा हुँदैछ दोस्रो ‘शब्दकिरी रअ सेसन्स’

काठमाडौं । एटिक रेस्टुरेन्ट एन्ड बार र शब्दकिरीको सहकार्यमा दोस्रो ‘शब्दकिरी रअ सेसन्स’ हुने भएको छ ।

असोज २७ गते (अक्टोबर १३) मा ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्ट एन्ड बारमा साँझ ६ः३० बजेदेखि सुरु हुने छ । कार्यक्रम ‘५ आवाज ५ ध्वनि र एक आत्मीय साँझ’ अवधारणामा हुने एटिक रेस्टुरेन्ट एन्ड बारका म्यानेजर विशाल खड्काले जानकारी दिए । खड्काले भने: “यो साँझ कविता सुन्ने मात्र होइन, त्यसलाई महसुस गर्ने एउटा फरक साँझ हो।”

कार्यक्रममा पाँच फरक प्रस्तोता सहभागी हुनेछन् । उनीहरूले मौलिक कविता, अन्प्लग संगीत र आफ्ना जीवनका अनुभूति प्रत्यक्ष प्रस्तुत गर्नेछन्। खड्काका अनुसार कार्यक्रमलाई परम्परागत मञ्चीय कार्यक्रमभन्दा फरक र आत्मीय बनाउने प्रयास गरिएको छ। ठूला सजावट र चर्को प्रकाशभन्दा शब्द, स्वर र कलाकार-दर्शकबीचको प्रत्यक्ष सम्बन्धलाई केन्द्रमा राखिनेछ। त्यसैले कार्यक्रम कविता र संगीतको प्रस्तुति मात्र नभई सर्जक र दर्शकबीचको संवादको थलो बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका लागि ५००, १००० र १५०० रुपैँया बराबरका टिकट राखिएका छन् । पहिलो १० जना टिकट खरिदकर्ताले भने जुनसुकै टिकटमा २०० रुपैँया छुट पाउने छन्। टिकट एटिक रेस्टुरेन्ट, फोनपोइन्ट्स एप र इसेवा मार्फत खरिद गर्न सकिनेछ। आयोजकले सिट सीमित रहेकाले अग्रिम टिकट लिन आग्रह समेत गरेको छ।