२०८३ जेष्ठ २७

एनपीएल विवाद फेरि चर्चामा, क्यानलाई कारबाही गर्ने सरकारको निर्णय रोकियो

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) विरुद्ध कारबाही अगाडि बढाउने सरकारी प्रक्रिया फेरि अन्योलमा परेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले क्यानसँग अन्तिम स्पष्टीकरण सोधेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिए पनि राखेपले उक्त पत्र पुनः मन्त्रालयमै फर्काएको हो ।

मन्त्रालयले नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धी छानबिनमा क्यानले आवश्यक सहयोग नगरेको निष्कर्ष निकाल्दै वैशाख १४ गते कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । तर राखेपले मन्त्रालयको निर्देशन स्पष्ट नभएको भन्दै थप खुलाउन आग्रहसहित पत्र फिर्ता पठाएको जनाएको छ ।

राखेपका अनुसार मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन आफूसँग नआएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको उजुरीसम्बन्धी विषयमा समेत अन्योल देखिएकाले स्पष्ट निर्देशन मागिएको हो । राखेप सदस्यसचिव रामचरित्र मेहताले “प्राविधिक कारण” ले पत्र फिर्ता गरिएको बताएका छन् ।

एनपीएलको पहिलो संस्करण आयोजना गर्दा पारदर्शिता, खरिद प्रक्रिया र विदेशी कम्पनीसँगको सम्झौतामा कानुनी प्रक्रिया पालना नभएको भन्दै क्यानविरुद्ध विभिन्न उजुरी परेका थिए । त्यसपछि मन्त्रालय र राखेप दुवैले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका थिए ।

छानबिन समितिहरूले क्यानले आवश्यक कागजात उपलब्ध नगराएको र जवाफमा पनि अस्पष्टता देखिएको निष्कर्ष निकालेका थिए । मन्त्रालयले खेलकुद विकास ऐनको दफा उल्लंघन भएको ठहर गर्दै आवश्यक परे क्यानलाई निलम्बनसम्म गर्न सकिने संकेत गरेको छ ।

यदि कारबाही प्रक्रिया अगाडि बढेमा नेपाली क्रिकेटमाथि गम्भीर असर पर्न सक्ने चर्चा सुरु भएको छ । क्यान निलम्बनमा परे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) बाट समेत प्रतिबन्धको जोखिम बढ्न सक्ने जानकारहरूको भनाइ छ ।

पहिलो संस्करणको एनपीएल सम्पन्न भएको लामो समय बितिसक्दा पनि विवादको छानबिन निष्कर्षमा नपुग्नुले नेपाली क्रिकेट प्रशासनमाथि प्रश्न उठेको छ ।