२०८३ जेष्ठ २७

भारत भ्रमणपछि परराष्ट्रमन्त्री खनाल अर्को साता चीन जाँदै

काठमाडौं। तीनदिने भारत भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल आगामी साता चीन भ्रमणमा जाने भएका छन्।

कूटनीतिक स्रोतका अनुसार मन्त्री खनाल चारदिने औपचारिक भ्रमणका लागि जेठ ३१ गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा उनले चीनका विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको बताइएको छ। साथै, चीनस्थित नेपाली डायस्पोरासँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको स्रोतले जनाएको छ।

यद्यपि, परराष्ट्र मन्त्रालयले मन्त्री खनालको चीन भ्रमणको मिति, उद्देश्य तथा विस्तृत एजेण्डाबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।