२०८३ असार १

इक्वेडरलाई १–० ले हराउँदै आइभरी कोस्टको रोमाञ्चक जित

काठमाडौँ । २०२६ फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को दोस्रो खेलमा आइभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गरेको छ। फिलाडेल्फियामा सम्पन्न यो खेल निकै प्रतिस्पर्धात्मक रह्यो, जहाँ अन्तिम समयसम्म पनि दुवै टोलीले गोल गर्ने अवसर पाए तर सफल हुन सकेनन्।

खेलको ११ औँ मिनेटमै इक्वेडरले अग्रता लिने राम्रो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। १४ औँ मिनेटमा स्ट्राइकरले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो। त्यसपछि १७ औँ मिनेटमा आइभरी कोस्टको प्रयास पनि गोलमा परिणत हुन सकेन।

३० औँ मिनेटमा इक्वेडरले अर्को सुनौलो अवसर गुमायो, जहाँ प्रहार बारमा लागेर रिबाउन्ड भएको थियो। पहिलो हाफभरि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले गोल गर्न सकेनन्।

दोस्रो हाफमा आइभरी कोस्टले खेलमा बढी दबाब बनाउँदै आक्रामक प्रदर्शन गर्‍यो। निरन्तर आक्रमण गरेको आइभरी कोस्टले अन्ततः नियमित ९० मिनेटको खेलको अन्तिम मिनेटमा निर्णायक गोल गर्‍यो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमाद डियालोले उत्कृष्ट फिनिस गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए।

यसअघि समूह ‘ई’ को पहिलो खेलमा जर्मनीले कुराकाओलाई ७–१ ले पराजित गरेको थियो। त्यस्तै आजै भएको पहिलो खेलमा जापान र नेदरल्यान्ड्सबीचको खेल २–२ को बराबरीमा सकिएको थियो।