काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन ले ट्युनिसिया लाई ५–१ गोलले पराजित गर्दै सानदार जित दर्ता गरेको छ। मेक्सिकोस्थित मोन्टेरी स्टेडियममा भएको खेलमा स्विडेनले पहिलो हाफमा २–१ को अग्रता लिँदै दोस्रो हाफमा थप तीन गोल गरेको हो।
स्विडेनका यासिन अयारीले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको सुरुवातमा नै टोलीलाई अग्रता दिलाए भने अतिरिक्त समयको अन्तिम मिनेटमा अर्को गोल थपे।
अलेक्जेन्डर इसाकले ३०औं मिनेटमा दोस्रो गोल गरे भने भिक्टर ग्योकेरेसले ५९औं मिनेटमा तेस्रो गोल गरे। माटियास स्वानबर्गले मैदान प्रवेश गरेको केही सेकेन्डमै चौथो गोल थपे। पछि उक्त गोललाई भिडियो सहायक रेफ्री (भिएआर) ले ८६औं मिनेटमा आधिकारिक रूपमा मान्यता दिएको थियो।
ट्युनिसियाका लागि ओमर रेकिकले ४३औं मिनेटमा एक मात्र गोल फर्काए।
यसअघि समूह ‘एफ’ कै खेलमा जापान र नेदरल्यान्ड्स ले २–२ को बराबरी खेलेका थिए। सो नतिजापछि स्विडेन समूहको शीर्ष स्थानमा पुगेको छ।




