काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङलगायत नगर प्रहरीद्वारा गरिने कारबाहीलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन ई–चलान प्रणाली लागू गरिएको बताएका छन्।
सोमबार आयोजित ई–चलान शुभारम्भ कार्यक्रममा बोल्दै मेयर महर्जनले प्रणाली आजदेखि नै औपचारिक रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए।
उनले महानगरले विभिन्न क्षेत्रमा प्रविधिमैत्री सेवा विस्तार गर्दै आएको उल्लेख गर्दै यसअघि स्मार्ट स्ट्रीट लाइट र इन्टेलिजेन्ट ट्राफिक लाइट जस्ता नवीन प्रविधि पहिलोपटक ललितपुरमा प्रयोग गरिएको बताए। सोही क्रममा अब ई–चलान प्रणालीमार्फत प्रशासनिक सेवा थप आधुनिक बनाइने उनले स्पष्ट पारे।
कार्यक्रममा उनले सेवाग्राहीलाई सहज बनाउन नगर प्रहरी प्रमुख र ट्रि लिफ टेक्नोलोजीका दीपक मल्लसँगको सहकार्यमा प्रणाली विकास तथा हस्तान्तरण गरिएको जानकारी दिए। मेयर महर्जनका अनुसार हाललाई यो प्रणालीको प्रभावकारिता परीक्षणको चरणमा रहनेछ।
उनले जरिवाना तिर्नका लागि सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने बाध्यताले सेवाग्राहीलाई असहजता हुने गरेको उल्लेख गर्दै त्यही समस्या समाधान गर्न ई–चलान प्रणाली ल्याइएको बताए।



