काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठक पनि विपक्षी दलहरूको अवरोधका कारण प्रभावित भएको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू आसनबाट उठेर विरोध जनाउँदै सदनको कारबाही अघि बढ्न दिएका छैनन्।
विवादको केन्द्रमा प्रधानमन्त्रीले जेठ १७ गते दिएको एक अभिव्यक्ति रहेको छ, जसमा उनले नेपालले पनि भारतको भूभाग मिचेको संकेत गरेका थिए। सो अभिव्यक्तिलाई विपक्षी दलहरूले राष्ट्रहितविपरीत भन्दै संसद्मा औपचारिक जवाफ माग गरेका छन्।
विपक्षी सांसदहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने र संसद्समक्ष माफी माग्नुपर्ने माग दोहोर्याउँदै आएका छन्। निरन्तरको अवरोधका कारण संसद् बैठक कार्यसूचीअनुसार अघि बढ्न सकेको छैन।




