काठमाडौं । फिफा विश्वकप २०२६ मा विश्वकप डेब्यू गरिरहेको कुरासाओले गोलरहित बराबरी खेल्दै ऐतिहासिक पहिलो अंक जोडेको छ। खेलमा टोलीका गोलकिपर एलोए रुमको उत्कृष्ट प्रदर्शन निर्णायक बनेको हो।
कान्सास सिटी स्टेडियममा भएको खेलमा कुरासाओले इक्वेडरलाई ०–० को बराबरीमा रोकेको हो। खेलभर इक्वेडरले निरन्तर दबाब बनाए पनि रुमले करिब १५ उत्कृष्ट बचाव गर्दै टोलीलाई हारबाट जोगाए।
विश्वकप इतिहासमा सर्वाधिक सेभको कीर्तिमान २०१४ मा अमेरिकाका टिम हावार्डले बेल्जियमविरुद्ध गरेका १६ बचाव हुन्। रुमले आजको प्रदर्शनमार्फत सो सूचीमा दोस्रो स्थाननजिक पुग्ने उपलब्धि हासिल गरेका छन्।
३७ वर्षीय रुम अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामीबाट खेल्छन्।
इक्वेडरका गोलकिपर हर्नान गालिन्डेजले पनि केही महत्वपूर्ण बचाव गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। यस खेलसँगै इक्वेडर र कुरासाओ दुवै टोलीको नकआउट सम्भावना कायम रहेको छ।
यसअघि इक्वेडर पहिलो खेलमा आइभरी कोस्टसँग २–१ ले पराजित भएको थियो भने कुरासाओ जर्मनीसँग ७–१ ले पराजित भएको थियो।




