२०८३ असार १०

हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

काठमाडौं। हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिएका छन्।

पछिल्लो समय अमेरिका बस्दै आएका शर्मा विगत सात वर्षदेखि क्यान्सर रोगसँग संघर्षरत थिए। लामो उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनको निधन भएको बताइएको छ।

टेलिफिल्म ‘चतुरेको दाउपेच’ मार्फत विशेष चर्चामा आएका शर्माले नेपाली टेलिभिजन तथा फिल्म क्षेत्रमा हास्य विधामा उल्लेखनीय योगदान दिएका थिए। उनले विभिन्न टेलिफिल्म तथा चलचित्रहरूमा अभिनय गर्नुका साथै ‘चतुरेको दाउपेच’ नामक फिल्म समेत निर्माण गरेका थिए।