काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित हासिल गरेको छ। स्टाडियो मेन्टारीमा सम्पन्न खेलमा जापानले पहिलो हाफमा २–० को अग्रता बनाउँदै खेल आफ्नो पक्षमा मजबुत बनाएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गर्यो।
जापानको जितमा आयसे उएदाले दुई गोल गरे भने दाइची कामादा र जुन्या इटोले एक–एक गोल योगदान दिए। खेलको सुरुवातदेखि नै जापानले आक्रामक खेल प्रदर्शन गर्दै ट्युनिसियामाथि लगातार दबाब सिर्जना गरेको थियो।
खेलको चौथो मिनेटमै दाइची कामादाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। नाकामुराको बायाँतर्फबाट आएको पास अप्रत्याशित रूपमा कामादाको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो। त्यसपछि ३१ औं मिनेटमा आयसे उएदाले दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा पनि जापानले आफ्नो लय कायम राख्यो। ६९ औं मिनेटमा जुन्या इटोले डिफेन्डरलाई छक्याउँदै उत्कृष्ट फिनिसमार्फत तेस्रो गोल गरे। त्यसपछि ८३ औं मिनेटमा उएदाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जितलाई पूर्णता दिए।
यो खेल फिफा विश्वकप इतिहासको १ हजारौं खेल पनि भएको उल्लेखनीय क्षण रह्यो। प्रतियोगिता सन् १९३० देखि सुरु भएको हो। यस हारसँगै ट्युनिसियाको विश्वकप अभियान समाप्त भएको छ।




