काठमाडौं । मंगलबार देशभर मौसममा उल्लेखनीय विविधता देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हिमाली तथा पहाडी भू–भागमा बदलीसहित वर्षा र हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा भने गर्मी र तातो लहरको प्रभाव रहनेछ।
दिनको समयमा कोशी प्रदेशका हिमाली र पहाडी भू–भागसहित तराई क्षेत्रमा सामान्य बदली रहनेछ। मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र मुख्यतया सफा रहने विभागले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा अन्य प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। तराई क्षेत्रमा भने कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर देखिन सक्ने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा बदली जारी रहनेछ। कोशी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने अनुमान छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी र अन्य पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा वा हिमपातको सम्भावना रहने विभागले जनाएको छ। तराई क्षेत्रमा भने केही स्थानमा मात्र वर्षाको सम्भावना रहने र अधिकांश क्षेत्रमा मौसम सामान्य रहने बताइएको छ।




