काठमाडौँ । आर्थिक गणनाको प्रारम्भिक तथ्याङ्कले नवलपुर जिल्लामा व्यवसायिक प्रतिष्ठानहरूको संख्या निरन्तर वृद्धि भइरहेको देखाएको छ।
प्राप्त तथ्याङ्कअनुसार स्थानीय तहगत रूपमा प्रतिष्ठानहरूको विवरण यसप्रकार छ:
| स्थानीय तह | प्रतिष्ठान संख्या |
| कावासोती नगरपालिका | ६,६२८ |
| गैँडाकोट नगरपालिका | ४,८२२ |
| देवचुली नगरपालिका | ३,६२१ |
| मध्यविन्दु नगरपालिका | ३,००१ |
| विनयी त्रिवेणी गाउँपालिका | १,७७९ |
| हुप्सेकोट गाउँपालिका | १,१६६ |
| बौदीकाली गाउँपालिका | ७८९ |
| बुलिङटार गाउँपालिका | ५१५ |
२०७५ सालको आर्थिक गणनामा जिल्लाभर १२ हजार ७४५ प्रतिष्ठान रहेको तथ्याङ्कसँग तुलना गर्दा पछिल्लो अवधिमा उद्योग, व्यापार तथा सेवा क्षेत्र विस्तार भएको देखिन्छ। विशेषगरी पूर्व–पश्चिम राजमार्ग आसपासका सहरी तथा अर्धसहरी क्षेत्रमा होटल, व्यापार, निर्माण सामग्री, वित्तीय सेवा तथा अन्य व्यवसायिक गतिविधि वृद्धि भएकाले प्रतिष्ठानको संख्या बढेको सम्बन्धित अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको आर्थिक गणनाको उद्देश्य देशभरका आर्थिक प्रतिष्ठानहरूको अवस्था, रोजगारी, लगानी, व्यवसायको प्रकृति तथा आर्थिक योगदान सम्बन्धी तथ्याङ्क संकलन गर्नु हो। प्राप्त विवरण नीति निर्माण, योजना तर्जुमा तथा विकास कार्यक्रमका लागि आधार बन्ने सहायक गणना अधिकारी रुद्र अधिकारीले बताए।
उनका अनुसार गणकहरूले फिल्ड कार्य सम्पन्न गरिसकेका छन् भने हाल तथ्याङ्कको रुजु गर्ने काम भइरहेको छ। असारको अन्त्यसम्म सम्पूर्ण प्रक्रिया पूरा गरी अन्तिम विवरण सार्वजनिक गरिने र प्रारम्भिक तथ्याङ्कमा ठूलो परिवर्तन नहुने अपेक्षा गरिएको उनले जानकारी दिए।




