काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई टर्की र बेलायत पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–७ बस्ने बारा निजगढ नगरपालिका–१३ घर भएका ४९ वर्षीय सुरेश गिरी र ललितपुर महालक्ष्मी नगरपालिका–१ बस्ने संखुवासभा चैनपुर नगरपालिका–३ घर भएका ७० वर्षीय वीरबहादुर श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार सुरेश गिरीले एक जना पीडितबाट टर्की पठाइदिने भन्दै १ लाख ९० हजार रुपैयाँ लिएको र वीरबहादुर श्रेष्ठले बेलायत पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले सुरेशलाई काठमाडौं महानगरपालिका–१२ बाट र वीरबहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका–१ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।




