२०८३ असार ११

रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि (बुधबार) निर्वाचन हुने भएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइनेछ। आज दिउँसो २ बजे सुरु हुने बन्दसत्र साँझ ६ः४५ बजे समापन हुने कार्यक्रम तय गरिएको छ।

निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिनेछ। महाधिवेशनमा प्रत्यक्ष रूपमा सहभागी हुन नसकेका विदेशस्थित प्रतिनिधिहरूका लागि रास्वपाको आफ्नै मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनका लागि ८० वटा विद्युतीय मतदान उपकरण तयारी अवस्थामा राखिएको छ। मतदानबाट एक सभापति तथा ९९ जना केन्द्रीय सदस्य चयन गरिने प्रमुख केसीले जानकारी दिए।

निर्वाचन आचारसंहिताअनुसार कुनै पनि उम्मेदवारका प्रस्तावक वा समर्थक स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।