२०८३ असार १०

रास्वपा बन्दसत्र सुरु, प्रतिवेदन प्रस्तुतपछि निर्वाचन प्रक्रिया अघि बढ्ने

काठमाडौं। भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र सुरु भएको छ। प्राविधिक कारण देखाउँदै हिजो स्थगित गरिएको बन्दसत्र आजदेखि औपचारिक रूपमा अघि बढाइएको हो।

बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूको सहभागिता रहेको छ। सत्रमा राजनीतिक, सांगठनिक तथा आर्थिक विषयका प्रतिवेदनहरू क्रमशः प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ।

कार्यतालिकाअनुसार सभापति लामिछानेले राजनीतिक प्रस्ताव, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रस्ताव र उपसभापति स्वर्णिम वाग्लेले आर्थिक–राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै अनुशासन आयोगको प्रतिवेदन तथा पार्टीको वित्तीय विवरणसमेत पेश गरिनेछ।

बन्दसत्र सम्पन्न भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ।