काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका इतर समूहका नेताहरूप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन्। आज झापामा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी सदस्यता अद्यावधिक नगर्ने व्यक्तिहरूलाई औपचारिक रूपमा पार्टी सदस्यको रूपमा नचिनिने स्पष्ट पारे।
उनले पूर्व सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको उल्लेख गरे।
थापाले सबै नेताप्रति सम्मान व्यक्त गर्दै भने, “म सबै नेताहरूलाई सम्मान पनि गर्छु। सबैले अधिवेशनमा सहभागिता जनाउनुपर्छ भन्ने मेरो धारणा हो। यदि तपाईंहरूमध्ये कसैले सदस्यता अद्यावधिक गर्नुभएको छैन भने क्षमा गर्नुहोला, अद्यावधिक नभएका सदस्यलाई नेपाली कांग्रेसले सम्मान र माया गर्छ तर पार्टीको औपचारिक सदस्यको रूपमा चिन्दैन। अहिलेको प्रणालीले पनि त्यही व्यवस्था गरेको छ।”
उनले पार्टीमा नयाँ पुस्ताको आगमनप्रति खुसी व्यक्त गर्दै युवा नेतृत्वप्रति सकारात्मक संकेत देखिएको बताए।
थापाले भने, “कांग्रेसलाई अगाडि बढाउन सक्षम नयाँ पुस्ताका एक से एक साथीहरू आएका छन्, उनीहरूलाई देखेर खुसी लाग्छ। अब यिनीहरूले पार्टी सम्हाल्नेछन् भन्ने विश्वास छ। तर कुर्सी समातेर मात्र बसिरहने, न हल्लिन सक्ने, न उठ्न सक्ने अवस्था बनाएर पार्टी चल्दैन।”




