काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’को दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि प्रभावशाली प्रदर्शन गर्दै ५–० गोलको फराकिलो जित दर्ता गरेको छ। अनुभवी स्टार क्रिस्टियानो रोनाल्डोको प्रेरणादायी खेलका कारण पोर्चुगलले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो।
खेलको छैटौँ मिनेटमै रोनाल्डोले कर्नरबाट आएको बललाई जाली चुमाउँदै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल थप्दै पोर्चुगलको अग्रता २–० मा पुर्याए। पहिलो हाफ सकिनुअघि ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को सहज अवस्थामा पुर्याए।
दोस्रो हाफमा पनि पोर्चुगलले आफ्नो दबाब कायम राख्यो। खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवको आत्मघाती गोलबाट पोर्चुगलले चौथो गोल थप्यो। त्यसपछि ८७औँ मिनेटमा राफाएल लीओले गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरे।
यस जितसँगै पोर्चुगल चार अङ्कसहित समूह ‘के’को शीर्ष स्थानमा उक्लिएको छ। यसअघि समूह चरणको पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो। लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान भने अंकविहीन रहँदै समूहको पुछारमा छ।
प्रतियोगिताअन्तर्गत आजका अन्य खेलहरू पनि रोचक रहने अपेक्षा गरिएको छ। नेपाली समयअनुसार राति १ः४५ बजे इङ्ल्याण्ड र घानाबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि बिहान ४ः४५ बजे पानामा र क्रोएसियाबीच खेल हुनेछ भने बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गो आमनेसामने हुनेछन्।




