काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निकट सल्लाहकार तथा सचिवालयका सदस्यहरूले पनि उम्मेदवारी दिएका छन्।
प्रमुख राजनीतिक सल्लाहकार असिम साहले खुला मुस्लिम समावेशी तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। उनले पार्टीभित्र कुनै गुट नरहेको सन्देश दिन र समावेशी सहभागिता मजबुत बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।
त्यस्तै, प्रधानमन्त्री बालेनका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले पनि केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गरेका छन्।
महाधिवेशनमा निकट सहयोगीहरूको समेत सक्रिय सहभागिताले रास्वपाभित्रको आन्तरिक प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।




