काठमाडौं । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनामा ६५ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका अनुसार सो अवधिमा वन क्षेत्रको रोयल्टीमार्फत ९३ हजार ४०० रुपैयाँ, बेरुजुबाट चार लाख ७५ हजार ५८१ रुपैयाँ, प्रशासनिक सेवाशुल्कबाट नौ हजार १७५ रुपैयाँ र अन्य आयमार्फत ५९ लाख ६३ हजार १५० रुपैयाँ सङ्कलन भएको छ।
वन अधिकृत तेजेन्द्र रावलले कार्यालयले वन संरक्षण तथा अवैध गतिविधि नियन्त्रणमा निरन्तर काम गरिरहेको बताए।
यस अवधिमा वन डढेलो नियन्त्रण नौ पटक गरिएको छ भने एक वटा स्वचालित हाते आरा सूचीकृत गरिएको छ। त्यस्तै, फर्निचर उद्योग अनुगमन तथा नियमन ३३ पटक गरिएको र १९ वटा सामुदायिक वन कार्ययोजना नवीकरण गरिएको कार्यालयले जनाएको छ।
त्यसैगरी करिब ३१ लाख १ हजार ८१३ किलो जडीबुटी जिल्लाबाट निकासी (छोडपुर्जी) गरिएको छ। पाँच हेक्टर वन क्षेत्रको अतिक्रमण रोकथाम गरिएको पनि जनाइएको छ।
सूचना अधिकारी प्रकाश देवकोटाका अनुसार जिल्लाका आठ स्थानीय तहमा ४६ वटा नयाँ वन कार्ययोजना कार्यान्वयनमा छन्।
हाल जुम्लामा २०६ वटा सामुदायिक वन, १२७ कबुलियती वन र ६ वटा निजी वन रहेका छन्।




