काठमाडौं । युरोप यतिबेला इतिहासकै भीषण गर्मी र लुको चपेटामा परेको छ। फ्रान्स, इटाली, बेलायत र स्पेनलगायतका देशहरू अत्यधिक तापक्रमका कारण गम्भीर रूपमा प्रभावित भएका छन्।
फ्रान्समा मात्रै पछिल्लो बिहीबारयता गर्मीसँग सम्बन्धित घटना तथा नदी–तालमा पौडी खेल्ने क्रममा डुबेर ४० भन्दा बढीको मृत्यु भएको छ। फ्रान्सको मौसम विभागले ५८ क्षेत्रमा रेड अलर्ट र ३१ क्षेत्रमा ‘अरेन्ज अलर्ट’ जारी गरेको छ।
लान्देस क्षेत्रमा तापक्रम ४४.३ डिग्री सेल्सियससम्म पुगेको छ। अत्यधिक गर्मीका कारण ६८ हजार घरमा विद्युत आपूर्ति अवरुद्ध भएको तथा जंगलमा डढेलो फैलिएको जनाइएको छ।
फ्रान्सका श्रममन्त्रीले देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै फ्रान्स पनि अब ‘तातो देश’ बनेको टिप्पणी गरेका छन्।
छिमेकी इटालीमा पनि राजधानी रोमसहित १६ प्रान्तका प्रमुख सहरहरूमा रेड अलर्ट जारी गरिएको छ। युरोपका अन्य देशहरूमा पनि गर्मी लहरको असर बढ्दै गएको अधिकारीहरूले जनाएका छन्।




