२०८३ असार ११

इरानले होर्मुज जलमार्गमा शुल्क नलिने ट्रम्पको दाबी, गलत भए वार्ता रोक्ने चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूबाट कुनै पनि प्रकारको शुल्क, बीमा लागत वा अतिरिक्त कर नलिने जानकारी दिएको बताएका छन्।

बुधबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले इरानबाट प्राप्त भनिएको सूचनाअनुसार उक्त जलमार्ग प्रयोग गर्ने जहाजहरूलाई शुल्क नलगाइने उल्लेख गरेका हुन्।

उनले केही सञ्चारमाध्यममा आएका समाचारहरू वास्तविकतासँग मेल नखाने दाबी गर्दै तीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। ट्रम्पका अनुसार यदि इरानले दिएको जानकारी गलत साबित भएमा अमेरिका र इरानबीच जारी वार्ता तत्काल अन्त्य हुने चेतावनी दिएका छन्।

“यदि यो जानकारी गलत भयो भने वार्ता तुरुन्तै समाप्त हुनेछ,” ट्रम्पले लेखेका छन्।

यस विषय सार्वजनिक भएका बेला अमेरिका र इरानबीच क्षेत्रीय सुरक्षा तथा आपसी सम्बन्ध सुधारका विषयमा विभिन्न चरणमा संवाद भइरहेको छ।