काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित नेपाली सेनाको ब्यारेकमा भएको ग्रेनेड विष्फोटमा एक सैनिक जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
विष्फोटमा कञ्चनपुरका ३७ वर्षीय हिमालय विष्टको मृत्यु भएको हो। धनगढी उपमहानगरपालिकाका ४२ वर्षीय हेमराज जैशी गम्भीर घाइते भएका छन्।
सेनाका अनुसार नियमित सैन्य तालिमका क्रममा ब्यारेकभित्र अचानक ग्रेनेड विष्फोट भएको हो। घाइते दुवै जनालाई तत्काल लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा विष्टको मृत्यु भएको बताइएको छ।
गम्भीर घाइते जैशीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको नेपाली सेनाले जनाएको छ।



