काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.५० अङ्कले घटेर २,६५१.५२ विन्दुमा झरेको हो।
त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६४ अङ्कले घटेर ४५८.२३ मा सीमित भएको छ। कुल ३३८ कम्पनीका ६४ लाख ८० हजार ५९९ कित्ता शेयर २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ रुपैयाँ बराबरमा कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स शीर्ष स्थानमा रह्यो। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबीआई बैंक शीर्ष पाँच कारोबार भएका कम्पनीमा परेका छन्।
आज टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले नाफा आर्जन गरेका छन्। यता भुजुङ हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त, भगवती हाइड्रोपावर, सानिमा डिबेञ्चर र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले भने घाटा व्यहोरेका छन्।




