काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासका क्षेत्रमा उल्लेख्य आर्थिक गतिविधि बढेको देखिएको छ। एक सातासम्म चलेको आवागमन र भीडभाडका कारण स्थानीय व्यापार तथा सेवा क्षेत्र करिब रु ५० करोडभन्दा बढीको कारोबारमा पुगेको अनुमान गरिएको छ।
महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक र समर्थकहरूले होटल, रेष्टुरेन्ट तथा पर्यटकीय क्षेत्रहरू भरिभराउ बनाएका थिए। गत आइतबार उद्घाटन भएको कार्यक्रम आज समापन हुँदैछ भने शनिबारदेखि नै जिल्लाका अधिकांश होटलहरूमा चाप बढेको व्यवसायीहरूले बताएका छन्।
आवास तथा खानपान व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशन अवधिमा मात्र आवासतर्फ करिब रु २० करोड बराबरको खर्च भएको अनुमान छ। उनका अनुसार केही दिनसम्म एकैपटक करिब २० हजार व्यक्तिसम्म चितवनमा उपस्थित भएका थिए।
गौतमले प्रतिनिधिहरूले सौराहा, पूर्वी चितवन तथा नवलपरासीको गैँडाकोटसम्मका होटलहरूमा बसोबास गरेको जानकारी दिए। आवासको व्यवस्था सहभागीहरूले आफैं मिलाएको भए पनि पार्टीले चार दिनसम्म भोजनको व्यवस्था गरेको थियो भने अन्य खर्च सहभागीहरू स्वयंले व्यहोरेका थिए।
यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार महाधिवेशन अवधिमा करिब २ हजार २०० भन्दा बढी साना–ठूला सवारीसाधन बाहिरबाट जिल्लामा प्रवेश गरेका थिए।
उद्योग वाणिज्य संघ चितवनका प्रतिनिधिहरूका अनुसार महाधिवेशनले स्थानीय होटल, रेष्टुरेन्ट मात्र नभई कृषि तथा उपभोग्य वस्तु बजारसमेत प्रभावित पारेको छ। दूध, माछा, मासु, अण्डा तथा फलफूलजस्ता दैनिक उपभोग्य सामग्रीको माग उल्लेख्य रूपमा बढेको व्यवसायीहरूको भनाइ छ।
भरतपुर केन्द्रित आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्दै क्षेत्रीय होटल संघ चितवनले सौराहा लगायतका पर्यटकीय क्षेत्रसमेत लाभान्वित भएको जनाएको छ। पहिलो पटक ठूलो राजनीतिक जमघटले जिल्लाका पर्यटन गन्तव्यहरूको प्रचार–प्रसारमा समेत योगदान पुगेको व्यवसायीहरूको मूल्यांकन छ।




