काठमाडौँ । युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणमा मृत्यु हुनेको संख्या कम्तिमा ३० पुगेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणबाट आंशिक रूपमा ध्वस्त भएको अपार्टमेन्ट भवनको निरीक्षण गर्दै युक्रेनी सेनाले यसको “निश्चित रूपमा बदला लिने” बताएका छन् ।
यसैबीच युरोपेली संघका शीर्ष कूटनीतिज्ञहरूले मस्कोमाथि नयाँ प्रतिबन्ध प्रस्ताव गरेका छन् भने राष्ट्रपति जेलेन्स्कीले प्याट्रियट एयर–डिफेन्स मिसाइल प्रणालीका लागि लाइसेन्स प्राप्त गर्ने प्रयास गरिरहेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त रूसी आक्रमणको कडा निन्दा गर्दै तत्काल युद्धविरामको आह्वान गरेका छन् । उनका प्रवक्ता स्टेफन डुजारिकका अनुसार गुटेरेसले नागरिक र नागरिक पूर्वाधारमा भएका आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लङ्घन भएको बताएका छन् ।
तर क्रेमलिनले कुनै सम्झौता नगर्ने अडान दोहोर्याउँदै किएभमाथि दबाब बढाउने घोषणा गरेको छ । सहरको केन्द्रका आवासीय क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन आक्रमणपछि ठूलो विस्फोट भएको बताइएको छ ।
किएभका मेयर भिटाली क्लिट्स्कोले यसलाई “राजधानीमा रूसको सबैभन्दा ठूलो आक्रमण” भनेका छन् ।
युक्रेनको राज्य आपतकालीन सेवाले आक्रमणमा ३० जनाको मृत्यु पुष्टि गरेको छ भने सहर प्रशासन प्रमुख तिमुर टाकाचेन्कोका अनुसार ९१ जना घाइते भएका छन् ।




