काठमाडौं । रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच दोस्रो दिन पनि सैन्य आक्रमण र प्रतिआक्रमण जारी रहेको छ। समुद्री मार्गको नियन्त्रण, अन्तर्राष्ट्रिय जहाजको आवतजावत र क्षेत्रीय सुरक्षालाई लिएर दुई देशबीचको तनाव थप चुलिएको छ।
अमेरिकी सेनाले हर्मुज जलघाँटीमा अन्तर्राष्ट्रिय जहाजको स्वतन्त्र आवागमनलाई जोखिममा पार्ने इरानी क्षमतालाई कमजोर पार्ने उद्देश्यले पछिल्लो कारबाही गरिएको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार करिब ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरिएको छ।
अमेरिकी आक्रमणमा इरानको उत्तरपूर्वस्थित रेल पुल, बुसेहरस्थित तटीय सैन्य आधार, बन्दर अब्बास, कोणार्क, चाबहार तथा किश टापु आसपासका क्षेत्रमा क्षति पुगेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। केही क्षेत्रमा विद्युत् आपूर्तिसमेत प्रभावित भएको बताइएको छ।
त्यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। बहराइनको राजधानी मनामामा विस्फोटको आवाज सुनिएको र कुवेतले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोन आक्रमण निष्क्रिय पारेको जनाएको छ।
अमेरिकी अधिकारीहरूले पछिल्लो इरानी आक्रमणबाट अमेरिकी पक्षमा ठूलो क्षति वा मानवीय हताहत नभएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको बताएका छन्। उनले थप वार्ताका लागि ढोका खुला रहेको उल्लेख गर्दै व्यापारिक जहाजमाथिको आक्रमणको जवाफस्वरूप अमेरिकी कारबाही गरिएको दाबी गरेका छन्।
यसैबीच, इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालीबाफले हर्मुज जलघाँटी इरानी नियन्त्रणअन्तर्गत रहने बताएका छन्। उनले इरानमाथि हुने कुनै पनि आक्रमणको जवाफ त्यसैअनुसार दिइने चेतावनी दिएका छन्।
फेब्रुअरीमा अमेरिका–इजरायल आक्रमणपछि सुरु भएको द्वन्द्वयता इरानले हर्मुज जलघाँटीमाथि आफ्नो नियन्त्रण बलियो बनाउने नीति अघि बढाउँदै आएको छ। तेहरानले जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क लिने र तोकिएको मार्ग उल्लङ्घन गर्ने जहाजमाथि कारबाही गर्ने चेतावनी दिँदै आएको छ।
हालै इरानले कम्तीमा तीनवटा व्यापारिक जहाजमा आक्रमण गरेको घटनापछि अमेरिकाले व्यापक सैन्य कारबाही सुरु गरेको जनाएको छ। दुवै पक्षले प्रारम्भिक आक्रमणमा दर्जनौँ लक्ष्यमा प्रहार गरेको दाबी गरेका छन्।
क्षेत्रीय तनाव बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका छन्।




