काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई थप उपचारका लागि तत्काल भारत नपठाइने भएको छ। उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था अझै अस्थिर रहेको भन्दै स्थानान्तरण गर्दा ज्यानमा थप जोखिम हुन सक्ने सुझाव दिएपछि सरकारले तत्काल भारत लैजाने निर्णय स्थगित गरेको हो।
सरकारले प्रारम्भिक रूपमा नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी गरेको थियो। सोहीअनुसार आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाइएको थियो। तर, वीर अस्पतालको बर्न आईसीयूमा उपचाररत नेपालीको अवस्था स्थिर नभएकाले अहिले स्थानान्तरण गर्नु उपयुक्त नहुने चिकित्सकहरूको निष्कर्षपछि योजना तत्कालका लागि रोकिएको हो।
हाल नेपाली वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत छन्। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचारका लागि भारत लैजान सकिने सुझाव दिएका छन्।
यसअघि गृहमन्त्री सुदन गुरुङ नेपालीलाई भारत पठाउने तयारीका क्रममा मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। रातिको समयमा नियमित उडान बन्द रहने भए पनि आवश्यक समन्वयका लागि उनी ट्राफिक प्रहरीको सवारीमार्फत विमानस्थलको एअरसाइडसम्म पुगेको स्रोतले जनाएको छ। यद्यपि अन्तिम समयमा चिकित्सकहरूले स्थानान्तरण नगर्न सुझाव दिएपछि यात्रा स्थगित गरिएको हो।
सरकारले यसअघि नै गणेश नेपालीको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने निर्णय गरिसकेको छ। स्वास्थ्य अवस्था सुधार भएलगत्तै चिकित्सकीय सल्लाहअनुसार थप उपचारका लागि भारत पठाउने तयारी पुनः अघि बढाइने सरकारी स्रोतले जनाएको छ।
गणेश नेपालीले केही दिनअघि राहदानी विभाग परिसरअगाडि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर रूपमा जलेपछि उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको सघन उपचार जारी छ।




