काठमाडौं । ल्हेन्दे खोलामा पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरिएको छ।
रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित क्षति रोक्न आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो। खोलाको बहाव र अवस्था सामान्य भएमा सोमबारदेखि पुनः उत्पादन सुरु गर्ने तयारी रहेको उनले बताए।
यसअघि गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधलगायत विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि मर्मत तथा पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको आयोजना फेरि जोखिममा पर्न सक्ने अनुमान गर्दै सुरुङतर्फ पानी पठाउने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन्।
रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव र अवस्थाको निरन्तर निगरानी भइरहेको छ। अवस्था सुरक्षित देखिएमा छिट्टै विद्युत् उत्पादन पुनः सुरु गरिने उनले जानकारी दिए।




