काठमाडौं । अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका केही सरकारी निकट सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा अन्य वरिष्ठ अधिकारीलाई लक्षित गर्दै कडा प्रतिक्रिया सार्वजनिक गरेका छन्।
इरानी सञ्चारमाध्यमहरूले ग्राहमलाई इरानविरोधी कडा नीतिका समर्थकका रूपमा चित्रण गर्दै उनको निधनलाई प्रमुखताका साथ प्रस्तुत गरेका छन्। हामशहरी दैनिकले ट्रम्प, अमेरिकी रक्षामन्त्री पीट हेग्सेथ, नेतान्याहु लगायतका नेताहरूको तस्बिरसहित चेतावनीपूर्ण सामग्री प्रकाशित गरेको जनाएको छ।
यस्तै, भातान–ए इमरोज ले ग्राहमलाई इरानविरुद्ध अमेरिकी नीतिका प्रमुख समर्थकमध्ये एक भन्दै उनको निधनबारे समाचार प्रकाशित गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमसँग आबद्ध एक प्रस्तोताले समेत ग्राहमको निधनबारे विवादास्पद टिप्पणी गरेका छन्।
यी प्रतिक्रियापछि अमेरिकी राजनीतिक वृत्तमा विभिन्न बहस सुरु भएको छ। ट्रम्प समर्थक केही समूहले घटनाबारे आशंका व्यक्त गर्दै विभिन्न दाबी गरे पनि त्यसलाई पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन।
दक्षिण क्यारोलिनाबाट निर्वाचित ग्राहम अमेरिकी विदेश नीतिका प्रभावशाली नेतामध्ये एक थिए। उनले युक्रेनलाई सैन्य सहयोग, इजरायललाई समर्थन र इरानको वर्तमान शासनप्रति कडा नीति अपनाउनुपर्ने धारणा पटक–पटक सार्वजनिक गर्दै आएका थिए।
मध्यपूर्वमा बढ्दो तनावबीच ग्राहमको निधनपछि अमेरिका, इरान र इजरायलबीचको राजनीतिक सम्बन्ध तथा सुरक्षा नीतिबारे नयाँ बहस सुरु भएको छ।



