काठमाडौं । लगातारको वर्षा र पहिरोको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाका बन्द गरिएको छ। सुरक्षाका कारण लामो दूरीका सवारी साधनलाई बसपार्क तथा विभिन्न स्थानमा रोकिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, साँगा र फर्पिङ हुँदै बाहिरिने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। वर्षाका कारण जोखिम बढेपछि सोमबार रातिदेखि नै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो भने मंगलबार बिहान पनि सवारी चल्न दिइएको छैन।
नागढुंगा–मुग्लिन–नारायणगढ सडकखण्डमा चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। त्यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी खोलामा पानीको बहाव बढ्नुका साथै मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो खसेपछि उक्त मार्ग हुँदै हुने आवतजावत पनि रोकिएको छ।
यसैगरी, फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौँडा जाने सडकसमेत बन्द गरिएको छ। कान्तिपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा पहिरो गएपछि उक्त सडकखण्डमा पनि यातायात प्रभावित भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार जोखिमको अवस्था विश्लेषण गरी कुन स्थानसम्म सवारी सञ्चालन गर्न दिने भन्ने विषयमा निर्णय गरिनेछ।
जिल्ला प्रशासन कार्यालय चितवनले पनि पहिरोको जोखिमलाई मध्यनजर गर्दै सोमबार बेलुकादेखि अर्को सूचना जारी नभएसम्म सवारी आवागमनमा रोक लगाएको जनाएको छ।
प्रहरीले यात्रु तथा चालकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।




