काठमाडौं। देशभर यस वर्षको धान रोपाइँ करिब ५० प्रतिशत सम्पन्न भएको छ। कृषि विभागका अनुसार चालु वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो।
कृषि विभागका महानिर्देशक राजेन्द्र कोइरालाका अनुसार गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। तर यस वर्ष भने हालसम्म ५० प्रतिशत मात्रै रोपाइँ भएको छ।
प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गण्डकी प्रदेशमा ६५ दशमलव ९ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमती प्रदेशमा ५७ दशमलव १ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।
यस्तै, कोशी प्रदेशमा ३२ प्रतिशत र मधेस प्रदेशमा ३२ दशमलव ७ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ।
देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय भई वर्षा भइरहेकाले आगामी एक साताभित्र धान रोपाइँको गति थप बढ्ने कृषि विभागले अपेक्षा गरेको छ। बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का कारण असर नपरेमा बाँकी क्षेत्रको रोपाइँ पनि तीव्र रूपमा अघि बढ्ने विभागको भनाइ छ।




