२०८३ श्रावण १०

कोलकाताबाट सिधै विराटनगर आइपुग्यो मालवाहक रेल, उद्योगीलाई ढुवानीमा राहत

काठमाडौँ । नेपाल–भारत पारवहन व्यवस्थामा नयाँ चरण सुरु गर्दै तेस्रो मुलुकबाट आयात गरिएको औद्योगिक कच्चा पदार्थ बोकेको मालवाहक रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुगेको छ ।

गत शुक्रबार कोलकाताबाट प्रस्थान गरेको रेल सोमबार दिउँसो विराटनगर भन्सार कार्यालयको परिसरमा पुगेको हो । रेलमा मोरङ–सुनसरी औद्योगिक करिडोरस्थित स्वस्तिक आयल उद्योगका लागि आयात गरिएको कच्चा पदार्थ बोकेका ४० फिटका ४० वटा कन्टेनर रहेका थिए ।

कन्टेनरको सुरक्षा र निगरानीका लागि विद्युतीय माल निगरानी प्रणाली जडान गरिएको थियो । यसअघि तेस्रो मुलुकबाट आयात भएका सामान भारतको बथनाहासम्म रेलमार्फत ल्याएर त्यहाँबाट ट्रकमा विराटनगर ल्याउने गरिएको थियो ।

अब भारतीय रेल सिधै विराटनगर भन्सारसम्म आउन थालेपछि ढुवानी प्रक्रिया छिटो, सहज र कम खर्चिलो हुने उद्योगी व्यवसायीले बताएका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले रेलमार्फत ढुवानी सेवा सुरु हुनु पूर्वी नेपालका उद्योगका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । यसबाट कच्चा पदार्थ आयातको समय र लागत घट्ने तथा उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्ने उनको भनाइ छ ।

उद्योगी सुयश प्याकुरेलका अनुसार कोलकाताबाट विराटनगरसम्म रेलमार्फत सामान करिब २४ घण्टामै आइपुग्ने भएकाले बन्दरगाहमा हुने ढिलाइ, कन्टेनर शुल्क र अतिरिक्त सडक ढुवानी खर्च कम हुनेछ ।

सेवा पूर्ण रूपमा सञ्चालन भएपछि एकैपटक ४५ वटासम्म ४० फिटका कन्टेनर रेलमार्फत विराटनगर ल्याउन सकिने जनाइएको छ ।

नेपाल–भारत पारवहन सम्झौताअनुसार नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका सडक, रेल र जलमार्ग प्रयोग गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअन्तर्गत आवश्यक प्रक्रियागत समन्वय पूरा भएपछि कोलकाताबाट विराटनगरसम्मको रेल ढुवानी सेवा सञ्चालनमा आएको हो ।