२०८३ श्रावण ११

बाढी र पहिरोले देशभरका सडक प्रभावित, आधा दर्जन बढी सडकखण्ड अवरुद्ध

काठमाडौं। लगातार भइरहेको वर्षाका कारण आएको बाढी, पहिरो र सडकमा पानी जम्ने समस्याले देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार जोखिम बढेका क्षेत्रमा सवारी आवागमनमा समय तालिका तोकेर रोक लगाइएको छ भने केही स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र सडक सुरक्षामा जोखिम देखिएकाले रातको समयमा यातायात बन्द गर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण सवारी सञ्चालन प्रभावित भएको छ। उक्त सडकखण्डमा अर्को सूचना जारी नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यता, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरोका कारण बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर पनि बन्द भएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेस्थित राँके–रवि–भेडेटार सडकखण्डमा समेत पहिरो खसेपछि यातायात प्रभावित भएको छ। गोरखाको धार्चे गाउँपालिका–७ लिदिङस्थित आरुघाट–माछिखोला सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ।

यसैगरी, ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथमा मंगलबार बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

मौसममा सुधार नआएसम्म थप बाढी, पहिरो र सडक अवरोधको जोखिम कायम रहने भएकाले प्रहरीले यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्रै अघि बढ्न र सम्भावित जोखिम भएका क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ।