काठमाडौं। दोलखाको सिप्रिङखोला जलविद्युत आयोजनाको बाँधस्थल मूलखर्क क्षेत्रमा गएराति गएको पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने चार जना कर्मचारी भीरको खुड्किलोमा फसेका छन्।
गएराति करिब ११ बजेतिर आएको पहिरोपछि आयोजनामा कार्यरत एक जना कर्मचारी सम्पर्कविहीन भएका हुन्। त्यस्तै, जलविद्युत केन्द्रमा कार्यरत सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्किएर उद्धारको प्रतीक्षामा रहेका छन्।
गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमागेली शेर्पाका अनुसार बेपत्ता व्यक्तिको खोजी तथा भीरमा फसेका कर्मचारीको सुरक्षित उद्धारका लागि सुरक्षा निकाय, स्थानीय टोली र विपद् व्यवस्थापनकर्मी परिचालन गरिएको छ।
उनले घटनास्थल क्षेत्रमा खोलामा निरन्तर बाढी आइरहेका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको जानकारी दिए। लगातारको वर्षाका कारण थप जोखिम बढेकाले उद्धार टोलीले सावधानीपूर्वक काम गरिरहेको उनले बताए।




