काठमाडौं । नेपालका लागि ३० हजार टन युरिया मल बोकेको तेस्रो पानी जहाज भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार निरन्तर वर्षाका कारण भारततर्फ मालवाहक रेल सञ्चालन प्रभावित हुँदा सोमबार नेपाल आइपुग्नुपर्ने १ हजार २५० टन युरिया मल बोकेको रेल बुधबार मात्रै आइपुग्ने भएको छ। साथै, २ हजार ५०० टन डीएपी मल बोकेको अर्को रेल पनि बुधबार नेपाल आउने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार कोलकाताबाट विराटनगरका लागि ३०० टन र भैरहवाका लागि ४५० टन मल ट्रकमार्फत पठाइसकिएको छ। बाँकी मल पनि चरणबद्ध रूपमा ल्याएर आवश्यकताअनुसार वितरण गरिने जनाइएको छ।
सरकारले चालु आर्थिक वर्षमा ६ लाख टन अनुदानित रासायनिक मल खरिद गर्ने लक्ष्य राखेको छ। हालसम्म ५ लाख ६१ हजार ४९३ टनभन्दा बढी मल आपूर्ति भइसकेको छ भने सरकारी गोदाममा ७४ हजार ४८ टनभन्दा बढी मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले किसानका लागि आवश्यक मल आपूर्ति र वितरण नियमित भइरहेकाले अभाव हुन नदिने जनाएको छ।




