काठमाडौं । मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकस्थित हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहीबार राति करिब १०ः३५ बजे विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार प्रारम्भिक अनुसन्धानमा चालकले मादक पदार्थ सेवन (मापसे) गरी मोटरसाइकल चलाएका कारण दुर्घटना भएको देखिएको छ।
दुर्घटनामा झापाको गौरीगन्ज गाउँपालिका–६ आठमोजाका २८ वर्षीय वरुणकुमार राजवंशी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि रतुवामाई नगर अस्पताल झुर्किया पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ।
प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्तो कार्य नगर्न चालकलाई आग्रह गरेको छ। मापसेका कारण हुने दुर्घटनाले मानवीय तथा भौतिक दुवै किसिमको क्षति पुर्याउने प्रहरीको भनाइ छ।




