२०८३ श्रावण १२

चिकित्सक संघद्वारा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको विरोधमा संघले ओपिडी लगायतका नियमित स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको हो।

संघले नारायणी अस्पतालका डा. प्रमोद रामसहित घाइते चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ। साथै घटनाप्रति जिम्मेवार देखिएका पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत कारबाही गर्न संघले माग गरेको छ।

आन्दोलनका थप कार्यक्रम आज बस्ने सर्वपक्षीय भेलाबाट तय गरिने संघले जनाएको छ। आन्दोलनका कारण बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै त्यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने संघको भनाइ छ।

घाइते मेडिकल अफिसर डा. रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। नारायणी अस्पतालमा भएको घटनाप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।