काठमाडौं। सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन आएका एक विद्यार्थीको भवनबाट खसेर मृत्यु भएको छ।
बेदकोट नगरपालिका–४ बगुनका २३ वर्षीय उत्तमसिंह कार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शनिबार विश्वविद्यालयको दोस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि अस्पताल लगिएको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार कार्कीले सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तह होटल व्यवस्थापन (बीएचएम) प्रथम सेमेस्टरको प्रवेश परीक्षा दिएपछि भवनको दोस्रो तलाबाट हामफालेका थिए।
शनिबार बिहान सवा ८ बजेदेखि सुरु भएको परीक्षामा सहभागी भएका कार्की सवा ९ बजे कक्षाकोठाबाट बाहिरिएका थिए। त्यसपछि उनी भवनको दोस्रो तलाको रेलिङमा चढेर हामफालेको प्रहरीले जनाएको छ।
घटनापछि उनलाई एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पुर्याइएको थियो। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको थियो।
माया मेट्रो अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए।
मृतक कार्की स्थानीय व्यवसायी पदमसिंह कार्कीका कान्छा छोरा हुन्। उनले वैजनाथ माध्यमिक विद्यालयबाट माध्यमिक तह (प्लस टु) अध्ययन पूरा गरेका थिए।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



