काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट १ करोड ३३ लाख ८१ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी हाँक्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएकाले उल्लेख्य राजस्व संकलन भएको हो।
यस अवधिमा सवारीसाधनको स्वरूप नियमविपरीत परिवर्तन गर्ने चालकलाई पनि कारबाही गरिएको थियो। त्यस्ता सवारीमाथिको कारबाहीबाट मात्र ५ लाख ७० हजार रुपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ।
ट्राफिक व्यवस्थापनसँगै जनचेतना अभिवृद्धिलाई पनि प्राथमिकता दिइएको प्रहरीले जनाएको छ। गत आर्थिक वर्षभर २ लाख ३१ हजार १३७ जनालाई लक्षित गर्दै विभिन्न ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।
यता, सोही अवधिमा सुर्खेत जिल्लामा ९५७ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ३७ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ।
प्रहरीका अनुसार अधिकांश दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको छ। त्यसबाहेक सवारीसाधनमा आएको प्राविधिक समस्या, पैदलयात्रीको असावधानी, सडक पूर्वाधार, प्रतिकूल मौसम तथा पशुचौपायाका कारण पनि दुर्घटना हुने गरेको जनाएको छ।




