काठमाडौं । नेपाल परराष्ट्र सेवाका अधिकृतहरूको भाषिक क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए)ले विदेशी भाषा प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ।
सोमबार त्रिपुरेश्वरस्थित सगरमाथा सभाकक्षमा आयोजित अभिमुखीकरण कार्यक्रममार्फत प्रशिक्षणको औपचारिक शुभारम्भ गरिएको हो। कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले प्रशिक्षणको उद्घाटन गर्दै प्रभावकारी कूटनीतिका लागि संवाद र भाषिक दक्षता अपरिहार्य रहेको बताए।
उनले नयाँ भाषा सिक्नु भनेको केवल बोलचालको सीप हासिल गर्नु मात्र नभई फराकिलो विश्वदृष्टि विकास गर्ने माध्यम पनि भएको उल्लेख गरे। विभिन्न मुलुक र समुदायसँग प्रत्यक्ष संवाद गर्न, आपसी सम्बन्ध विस्तार गर्न तथा नेपालको पहिचान अन्तर्राष्ट्रिय समुदायमा प्रभावकारी रूपमा प्रस्तुत गर्न भाषा ज्ञानले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
आईएफएका अनुसार यो कार्यक्रममार्फत परराष्ट्र सेवाका अधिकृतलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ प्रभावकारी रूपमा काम गर्न आवश्यक भाषिक सीप प्रदान गर्ने लक्ष्य राखिएको छ। संस्थाले विदेशी भाषा शिक्षालाई कूटनीतिक प्रशिक्षण प्रणालीको अभिन्न अंगका रूपमा विकास गर्दै लैजाने योजना पनि सार्वजनिक गरेको छ।
कार्यक्रममा आईएफएकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले भाषा र सांस्कृतिक समझदारीले विश्वास निर्माण, सार्वजनिक कूटनीति प्रवर्द्धन तथा नेपालको ‘सफ्ट पावर’ सुदृढ बनाउन सहयोग पुग्ने बताइन्। उनले प्रशिक्षणलाई दीर्घकालीन रूपमा सफल बनाउन सहभागी अधिकृतको प्रतिबद्धता र परराष्ट्र मन्त्रालयको निरन्तर सहयोग आवश्यक रहने धारणा व्यक्त गरिन्।
अभिमुखीकरण कार्यक्रममा नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चिनियाँ भाषा सिकाइको महत्व तथा नेपाल–चीन सम्बन्धबारे धारणा राखेका थिए। त्यसैगरी, नेपालका लागि फ्रान्सेली राजदूतावासकी कार्यवाहक राजदूत एल्जा क्यालेले फ्रान्सेली भाषा अध्ययनले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुग्ने बताइन्।
प्रशिक्षणको पाठ्यक्रमबारे त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटका नेपाल निर्देशक डा. बलराम दुवालले चिनियाँ भाषा तथा अलायन्स फ्रान्सेज द काठमाडौंकी पाठ्यक्रम निर्देशक आन–लोर पोटिएले फ्रान्सेली भाषा प्रशिक्षणको संरचना र सिकाइ प्रक्रियाबारे जानकारी दिएका थिए।
आईएफएका अनुसार चिनियाँ भाषा प्रशिक्षण कन्फ्युसियस इन्स्टिच्युटको सहकार्यमा र फ्रान्सेली भाषा प्रशिक्षण अलायन्स फ्रान्सेज द काठमाडौंसँगको सहकार्यमा सञ्चालन हुनेछ। साथै आगामी दुई साताभित्र अरबी भाषा प्रशिक्षण पनि सुरु गरिने तयारी गरिएको छ।
कार्यक्रमअन्तर्गत चिनियाँ भाषा कक्षा सातामा तीन दिन सञ्चालन हुनेछ भने फ्रान्सेली र अरबी भाषा कक्षा सातामा दुई–दुई दिन सञ्चालन गरिनेछ। प्रत्येक कक्षाको अवधि डेढ घण्टा रहनेछ।




