काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको गुणस्तर सुधार गर्दै उपभोक्ताको विश्वास बढाउन उद्योगी तथा व्यवसायीलाई नेपाल गुणस्तर (एनएस) चिन्ह लिन आग्रह गरेकी छन्।
मन्त्रालयमा नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक कुमारी ज्योति जोशीसहित विभागका अधिकारीहरूसँग भएको छलफलमा मन्त्री यादवले नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन गुणस्तर मापदण्डको पालनालाई प्राथमिकता दिनुपर्ने बताइन्।
उनले नेपालमा उत्पादन हुने वस्तुले विश्वसनीयता हासिल गर्न सके स्वदेशी बजारमा माग बढ्नुका साथै आयातमा निर्भरता घटाउन सहयोग पुग्ने धारणा राखिन्। गुणस्तर चिन्ह प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने र उद्योगी व्यवसायीलाई आवश्यक सहयोग उपलब्ध गराउने सरकारको नीति रहेको उनले बताइन्।
मन्त्री यादवका अनुसार एनएस चिन्ह प्राप्त उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन पनि सहज हुने भएकाले निर्यात प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ।
नेपालमा हाल सिमेन्ट, रड, टायरलगायत विभिन्न औद्योगिक उत्पादनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेका छन्। पछिल्लो समय स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडले समेत एनएस चिन्ह पाएको विभागले जनाएको छ।
यद्यपि धेरै उद्योग तथा कम्पनीले अझै गुणस्तर चिन्ह लिन बाँकी रहेकाले आवश्यक मापदण्ड पूरा गरी प्रक्रिया अघि बढाउन मन्त्रालयले व्यवसायीलाई आग्रह गरेको छ।




