२०८३ श्रावण १९

रोमानियामा रेल दुर्घटनामा दुई नेपालीको मृत्यु

काठमाडौं । रोमानियामा भएको रेल दुर्घटनामा परी दुई जना नेपाली नागरिकको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ज्यान गुमाउने नेपालीहरू २५ र ३६ वर्ष उमेरका रहेका छन्।

मृतकको पहिचान भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। उनीहरू कसरी रेलको लिकसम्म पुगे र दुर्घटना कुन परिस्थितिमा भयो भन्ने विषयमा स्थानीय प्रहरी तथा रेलवे अधिकारीहरूले अनुसन्धान अघि बढाएका छन्।

रोमानियाको राजधानी बुखारेस्टबाट करिब ३०८ किलोमिटर टाढा रहेको बाकाउ सहरको चिमीई रेल सडक खण्डमा आइतबार बिहान ३ बजेर २१ मिनेटमा दुर्घटना भएको बताइएको छ।

रोमानियामा ठूलो संख्यामा नेपाली नागरिक रोजगारीका लागि बसोबास गर्दै आएका छन्। पछिल्लो तथ्यांकअनुसार त्यहाँ करिब ५० हजार नेपाली कामदार रहेको अनुमान गरिए पनि नेपाल सरकारको आधिकारिक दूतावास वा कूटनीतिक संयन्त्र भने स्थापना भएको छैन।