२०८३ भाद्र १०

‘हेलो सरकार’ अब थप स्मार्ट बन्दै, एउटै प्रणालीबाट गुनासोदेखि समाधानसम्म

काठमाडौं, साउन २० — सरकारले नागरिकका गुनासोको सुनुवाइलाई अझ छिटो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’लाई स्तरोन्नति गर्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसलाई ‘नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणाली’ का रूपमा विकास गर्ने गरी अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार पारेको जनाएको छ।

प्रस्तावअनुसार फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इमेल, इन्स्टाग्रामलगायत विभिन्न माध्यमबाट आएका गुनासो एउटै पोर्टलमार्फत व्यवस्थापन गरिनेछ। सेवाग्राहीले सम्बन्धित कार्यालयमै सिधै गुनासो दर्ता गर्न सक्नेछन् भने आवश्यक परे हेलो सरकार प्रणालीले स्वतः सम्बन्धित निकायमा पठाउने व्यवस्था हुनेछ।

योजनामा टोल–फ्री नम्बर ११११ लाई विभिन्न मन्त्रालय र सरकारी निकायका कल सेन्टरसँग जोड्ने व्यवस्था पनि समेटिएको छ। सेवा नपाएमा गुनासो पुनः हेलो सरकारमै फर्कने प्रणाली विकास गरिने भएकाले एउटै विषयमा पटक–पटक विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थाअनुसार अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्ने लक्ष्य राखिएको छ। समाधानपछि सेवाग्राहीबाट प्रतिक्रिया लिएपछि मात्र गुनासो फर्छ्यौट भएको मानिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

यसबीच, हेलो सरकारमा गुनासो दर्ता हुने क्रम तीव्र रूपमा बढेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा ६९ हजार ७२४ गुनासा दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३२१ प्रतिशत बढी हो। चालु आर्थिक वर्षको साउन १८ गतेसम्म मात्रै ९ हजार ६१० गुनासा दर्ता भइसकेका छन्।