२०८३ श्रावण २८

कनकाईका थप १३ जनाले पाए जग्गाधनी पुर्जा

काठमाडौं । झापाको कनकाई नगरपालिका–३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समितिले उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।

पुर्जा प्राप्त गर्नेमा एक जना भूमिहीन दलित, पाँच जना भूमिहीन सुकुमवासी र सात जना अव्यवस्थित बसोबासी रहेका छन्।

यसअघि साउन ८ गते समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो। नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो।

तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९/८० देखि कनकाईमा लगत सङ्कलनको काम सुरु गरेको थियो। हालसम्म नगरपालिकामा २५८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिसकिएको भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालले जानकारी दिए।

उनका अनुसार लगत सङ्कलनका क्रममा कनकाई नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी गरी ७ हजार २०७ जनाको विवरण सङ्कलन गरिएको छ।

वर्गसङ्कलित विवरण
भूमिहीन दलित३७५
भूमिहीन सुकुमवासी२,२४४
अव्यवस्थित बसोबासी४,५८८
जम्मा७,२०७